परिचय

विद्यालयको परिचय

सिंहदेवी आधारभूत विद्यालयको स्थापना बि.स. २०४० साल पौष १८ गते भएको हो । यो विद्ययालय कनकाई नगरपालिकाको वडा नं. ४, टेक्रामा अवस्थित छ । यो विद्यालयमा हाल नगरका नमूना विद्यालयहरुमध्येमा उत्कृष्ट नमूना विद्यालयको रूपमा परिचित छ । यस विद्यालयमा हाल ४५० जना विद्यार्थीहरु अध्ययनरत छन् । प्रविधिमैत्री तथा अपाङ्गमैत्री विद्यालयको रुपमा परिचित बाल कक्षादेखि  कक्षा ८ सम्म सञ्यचालित यस विद्यालयमा  डम्बरप्रसाद फुयालको कुशल प्रधानाध्यापकत्वमा तथा नेतृत्वमा १३ जना शिक्षक तथा १ जना विद्यालय सहयोगी रहेका छन् ।

  •  ऐतिहासिक पृष्ठभूमि
    कनकाई नदीको वर्षा यामको पानीले स्थानीय बासिन्दाहरूलाई बाढी पीडित बनाउनका साथै नदीको पानी पूर्वी कनकाई र पश्चिमी कनकाई भएर दुईतर्फबाट बग्न थालेपछि त्यस क्षेत्रका बालबालिकालाई पढ्नका लागि सुरुङ्गा आउन पनि अति नै धौ–धौ पर्ने हुन्थ्यो र पठन पाठनको एक मात्र विकल्प लालपानी नि.मा.वि. थियो । विद्यालय घरभन्दा धेरै टाढा भएकाले त्यसताकाका युवाहरू शिक्षातर्फ खासै लगनशील भएको नपाएपछि स्थानीय अभिभावक शिक्षाप्रेमी व्यक्तिहरूको सक्रियतामा यस क्षेत्रका बालबालिकाहरूलाई शिक्षा प्रदान गर्नुपर्ने उद्देश्य लिई २०४० साल पौष १८ गते यस विद्यालयको स्थापना भएको हो ।
    स्थानीय समाजसेवी श्री नरनाथ फुयाल, लेखबहादुर कोइराला तथा अन्य स्थानीय अभिभावकहरूको अगुवाइमा जि.शि.का. झापाबाट श्री सिंहमाई जनमुखी प्रा.वि. नामकरण गरी कक्षा सञ्चालन अनुमति लिई एउटा आँपको रुखमुनि विधिवत् कक्षा – ३ सम्मको विद्यालयको सुरुवात भयो । केही समय यसरी नै पठन पाठन सुचारु भएपछि पठन पाठनको जिम्मा लिन शिक्षकको रूपमा श्री लेखबाहादुर कोइराला, श्री डम्बरप्रसाद फुयाल र श्री पुरनकुमार फुयाललाई स्वयंसेवकका रूपमा नियुक्ति दिइयो । नरनाथ फूयालले आफूले भोगेको ०–५–० कठ्ठा जग्गा र धन बहादुर कार्कीले जोतभोग गरेको पोखरी मा.वि. को जग्गा ०–३–० गरी जम्मा ०–८–० जग्गा उपलब्ध गराएपछि स्थानीय अभिभावकको पहलमा खम्बा, बाँस, खर, पराल सङ्कलन गरी सामान्य सेउले कटेरो बनाई त्यसैमा पठन पाठन गर्न थालियो ।
    २०४४ सालमा यस विद्यालयलाई स्वीकृति प्रदान गरियो र १ दरबन्दीसमेत प्राप्त भयो । विद्यालयको स्वीकृतिसँगै विद्यालयको नाम पनि परिर्वतन गरी श्री सिंहदेवी प्राथमिक विद्यालय रहन गयो । २०४६ सालमा प्रा.शि. परियोजनाबाट भौतिक निर्माणका लागि रु.६५०००।– प्राप्त गरी ३ कोठे अर्धपक्की भवन निर्माण गरेर कक्षा ३ सम्मको पठन पाठन सुरु गरियो । २०४४ सालबाट कक्षा १ र १ दरबन्दी प्राप्त गरेको यस विद्यालयले २०४७ सालमा मात्र कक्षा ५ र ५ वटा दरबन्दी प्राप्त गरेको थियो । विद्यालयको विकासक्रमसँगै स्थानीय स्रोत, तत्कालीन गा.वि.स., वन उपभोक्ता समिति आदिबाट आर्थिक सहयोग उपलब्ध गराउँदै अन्य भवन र कोठाहरू थप हुँदै गए । जाइकाबाट दुइकोठे पक्की भवन प्राप्त भयो । विद्यालयको स्तर वृद्धि गर्ने क्रममा २०६६ सालबाट नि.मा.वि. तह सञ्चालन सुरु भई २०६८ मा कक्षा ८ सम्म सञ्चालनमा आएको छ ।